काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशी लगानी नआए निजगढ विमानस्थल सरकार आफैले निर्माण गर्ने बताएका छन् ।
सरकारले यस आयोजनाका लागि विदेशी लगानी कुरिरहेको छ । यद्दपी लगानीको मोडालिटी भने तय भइसकेको छैन ।
अर्कोतर्फ लगानी बोर्डमार्फत करीव ७ वटा लगानीकर्ताले निजगढ विमानस्थलमा चासो देखाएका छन् ।
संसारकै ठूला विमानस्थलमध्ये एक हुने यो विमानस्थलको प्रारम्भीक चरणका काम सम्पन्न गरी आगामी मंसिरमा शिलान्यास गर्ने घोषणा मन्त्री भटटराईले गरेका छन् ।
मंगलबार राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले अब अरुको मुख ताकेर यो विमानस्थल आयोजना अलपत्र नपारिने स्पष्ट पारे ।
विमानस्थल निर्माण गर्न एकै वर्ष ६ खर्ब नलाग्ने भन्दै वार्षिक २०\२५ अर्ब रुपैयाँ सरकारका लागि ठूलो कुरा नभएको उल्लेख गरे ।
उनले यो विमानस्थल निर्माणका लागि काटिने रुखको सट्टा वृक्षरोपण अभियानमार्फत रुख रोपिने उल्लेख गरे ।
त्यसका लागि राष्ट्रिय अभियान नै संचलन गरिने उनको भनाई छ ।
आफू वन विनास गर्न नभई विमानस्थल बनाउन आएको भन्दै विकास र वातावरण संरक्षण संगसँगै लैजाने योजनामा सरकार रहेको उनले उल्लेख गरे । रुख कटानको विषयलाई लिएर यो आयोजनालाई विवादमा पार्ने काम भइरहेको छ ।