काठमाडौं । अब पर्यटक भिसामा खाडी मुलुक, सार्क मुलुक, मलेसिया र थाइल्याण्डमा घुमफिरमा जाने नेपालीले २५० डलर मात्र बोके पुग्ने भएको छ । सरकारले गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम डलर घटाउने निर्णय गरेको हो । यसअघि यस्तो रकम ५ सय डलर थियो । यस्तो रकम डलर वा सोही मुलुकको मुद्रामा सटही गर्न सकिने छ ।
खर्च व्यहोर्ने व्यक्ति वा संस्था सबैको व्यहोरा खुलेको पत्र भएमा भने सो रकम समेत बोक्नु पर्नेछैन । युरोप, अमेरिका, जापान, कोरिया लगायतका मुलुकमा जाने व्यक्तिको हकमा भने साविकमा झै ५ सय डलर न्यूनतम बोक्नु पर्ने नियम छ । विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’ वर्गको बैंकबाट सटही गर्न सकिने छ ।