काठमाडौं । पाटन उच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पक्रन प्रहरीलाई आदेश दिएको छ ।
बैंकिङ कसूरको मुद्दामा अदालतले उनलाई पक्रन आदेश दिएको हो । त्यसका लागि अदालतले तीन दिनको समय दिएको छ ।
कृषि विकास बैंकको बैंकिङ कसूरसम्बन्धी मुद्दा दायर गरेको थियो ।
सोही मुद्दामा मन्त्री खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिइएको हो ।
कृषि विकास बैंकले बैंकिङ कसूर मुद्दामा मन्त्री खत्रीसहित छविलाल ढकाल, रणधीर तुम्बा, देवलाल शाही र राजु प्रसाद श्रेष्ठलाई प्रतिवादी बनाइएको थियो ।
त्यसमध्ये मन्त्री खत्री र श्रेष्ठ फरारको सूचीमा छन् भने अन्य चाही पक्राउ परिसकेका छन् ।
उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उनीहरुलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश दिएको हो ।
कीर्ते बैंक ग्यारेन्टी देखाई तीन वर्ष अगाडी १ करोड ३० लाख रुपैयाँ निकालेको आरोप उनीहरुमाथि रहेको छ ।