काठमाडौं । सेयर बजारमा उच्चको अंकको गिरावट आएको छ । बजार खुले यता निरन्तर ओरालो लागेको बजार करिब ५६ अंकले घटेर बन्द भएको हो ।
नेप्से सूचक ७ महिना अघिकै बिन्दुमा आइपुगेको हो । गत चैतमा सूचक २६०० विन्दु तल रहेको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जाम कडाइ गरे यता ओरोला लागेको बजारको घट्ने क्रम अझै रोकिएको छैन । पछिल्लो डेढ महिनामा मात्रै नेप्से सूचक ६०० बढी अंकले घटिसकेको छ ।
सूचकमा भारी गिरावट आएसँगै कारोबार रकममा पनि बढोत्तरी आउन सकेन । लगानीकर्ता उत्सातिह नहुँदा कारोबार रकम ४ अर्बमा सीमित भएको छ ।
आइतबार सेयर बजार मापक सूचक नेप्से ५५.९३ अंकले घटेर २५७७.४९ विन्दुमा आइपुगेको छ । यसदिन २३२ कम्पनीको ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँ बराबरको ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनानस समूह सबैभन्दा धेरै ४.३३ प्रतिशतले घटेको छ । यस्तै, होटल, हाइड्रोपावर र लगानी समूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबारमा आएका ३३२ कम्पनीमध्ये जम्मा १७ कम्पनीको मूल्य बढेको छ भने २०६ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अपि पावरको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नेशनल र रिडी हाइड्रोपावर १२ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।
उच्च अंकले घटेको बजारमा आज गुह्येश्वरी मर्चेन्टको सेयर मूल्य सबैभन्दा धेरै ९.१९ प्रतिशतले घटेको छ । यसैगरी, रैराङ हाइड्रोपावर ९.१३, माउन्टेन इनर्जी ८.५५, छ्याङ्दी, युनाइटेड मोदी, युनियन हाइड्रोपावर, हिमालयन पावर, एचआइडीसीएल, अरुण भ्याली, सानिमा माइ, सपोर्ट माइक्रोफाइनान्स र युनिभर्सल पावरको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
उच्च अंकले घटेको बजारमा पनि आज मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले मूल्य ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।