काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड

काठमाडौं । काठमाडौंको सार्वजनिक यातायातमा चढी पाकेटमार्ने दुई सय सात जना पाकेटमार र चोर पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको सोमबार जानकारी गराएइको हो । दसैं तिहारमा घर फर्किनेको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको छ । प्रहरीले भदौ २५ गतेदेखि अपरेसन थालेको थियो ।

प्रहरीले यातायात व्यवसायीसँगको समन्वयमा अपरेसन थालेको थियो । प्रहरीले १६१ जनामाथि अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । ४६ जना भने पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। प्रहरीका अनुसार उनीहरू दुई, दुई जनाको दरले ६ जनाको टोली बनाएर बसभित्र जाने गर्थे। भित्र पसेपछि उनीहरूले पैसा धेरै हुने व्यक्ति पहिचान गरि पकेट मार्थे । व्यक्ति पहिचान भएपछि व्यक्तिलाई घेराबन्दी गरि ठेलमठेल गर्ने र त्यही मौकामा उनीहरुले पर्स निकाल्ने गरेको पाइएको छ ।

त्यसक्रममा उनीहरुले कोड वर्ड प्रयोग गरि संचार गर्थे । पीडितलाई रामे, पैसालाई द, मोबाइललाई कान, पाकेटमार गर्ने व्यक्ति मास्टर वा काशी, पैसा धेरै छ भन्ने संकेत दिन टानको द पैसा, थोरै छ जुटको द, गाडीलाई काँचा भन्ने कोडवर्ड प्रयाग भएको प्रहरीले जनाएको छ । केटालाई छापा, केटीलाई भद्री, पुलिसलाई ठूल्दाइ, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नलाई टप्की शब्द प्रयोग गर्ने गरेको समेत खुलेको छ ।