अफ्रिकाका एक शताब्दी लामो प्रयासपछि मलेरिया विरुद्धको खोप तयार, वितरणको अनुमति दिइयो

BRIAN ONGORO\BBC

काठमाडौं । अफ्रिकी मुलुकमा एक शताब्दीभन्दा लामो प्रयासमा तयार भएको मलेरिया विरुद्धको खोप वितरणको अनुमति प्राप्त भएको छ । यो ऐतिहासिक उपलब्धी भएको बीबीसीले लेखेको छ । धेरैजसो अफ्रिकी भूभागमा बालबालिकालाई एक शताब्दीको प्रयासपछि तयार भएको मलेरिया रोग विरुद्धको खोप दिन लागिएको हो । खासगरी बालबालिका र शिशुहरूको ज्यान लिने मलेरिया हजारौँ वर्षदेखि मानवताका लागि एउटा ठूलो सङ्कटको रूपमा छ।

चिकित्सा क्षेत्रकै ठूलामध्येको उपलब्धि ठानिएको यो खोपको विकासलाई मलेरियाविरुद्ध लड्ने ऐतिहासिक अभियानमा ठूलो फड्को ठानिएको छ। लामखुट्टेबाट फैलने यस रोगले विश्वभर बर्सेनि झण्डै चार लाख मानिसहरूको ज्यान लिनेगर्छ। आरटीएस, एस भनिने खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भएको थियो। परीक्षणका रूपमा घाना, केन्या र मलावीमा वितरण गरिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अब त्यसलाई सब सहारा अफ्रिका र मध्यमदेखि उच्च प्रकोप भएका अन्य क्षेत्रमा वितरण गरिने जनाएको छ।

ती तीन देशमा आठ लाख बालबालिकामा गरिएको मानव परीक्षणमा यस खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतले कमी ल्याएको देखाएको थियो। यस खोपले प्रत्येक १० जनामध्ये ४ जनालाई मलेरिया रोग लाग्नबाट जोगाउने र प्रत्येक १० जनामध्ये ३ जनालाई गम्भीर अवस्थामा पुग्नबाट बचाउने बताइएको छ। यसले प्रभावकारी रूपमा काम गर्न चारवटा मात्रा लगाउनुपर्छ।

पहिलो तीन मात्रा एक(एक महिनाको फरकमा पाँच, छ र सात महिनाका शिशुलाई दिइन्छ भने अन्तिम बुस्टर मात्रा १८ महिना आसपासमा आवश्यक पर्नेछ। यसको व्यापक वितरणका लागि आर्थिक सहायताको पाटो भने अझै अस्पष्ट छ। डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले यसलाई ऐतिहासिक क्षण भएको बताएका छन्।