काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले हरेक वर्ष दशैं, दीपावली र छठको अवसरमा कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस पटक पनि नगर्ने भएको छ । गत वर्ष समेत कोरोनाका कारण चियापान आयोजना भएको थिएन । बिहीबार काँग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी एक विज्ञप्तिमा कोरोना महामारीबाट बच्न सबैले उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरे पश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने समेत विज्ञप्तीमा उल्लेख छ । खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु सबैको कर्तव्य भएको भन्दै महामारीमाथि विजय हासिल गर्न चांडै नै सफल हुने विश्वास समेत लिइएको विज्ञप्तीमा उल्लेख छ । ‘नेपाली कांग्रेस बडा दशै, तिहार, नेपाल सम्वत् र छठपर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।’, काँग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।