नेपाल बेलायतको यात्रा सम्बन्धी रेडलिस्टबाट हट्यो

Photo source : AP News

काठमाडौं । बेलायतले नेपाललाई कोभिडका कारण यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । रेड लिस्टमा रहेको नेपाललाई बेलायतले सो सूचिबाट हटाएको हो । बिहीवार ब्रिटिश सरकारले रेड लिस्टमाराखिएका नेपाल लगायतका मुलुकलाई उक्त सूचीबाट हटाउने घोषणा गरेपछि अबनेपालबाट बेलायत जाने नेपालीलाई भने राहत हुने छ । यो नियम सोमवारदेखि लागु हुनेछ । नयाँ नियम अनुसार त्यहाको सरकारले पहेँलो सूची हटाएको छ । हरियो सूचीमा रहेका मुलुकको सङ्ख्या पनि ह्वात्तै बढाएको छ।


ब्रिटिश यातायातमन्त्री ग्रयान्ट शाप्सले नयाँ नियम ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा एउटा नयाँ पाइला भएको बताएका छन् । सरकारले बिहीवार एउटा सूचना जारी गर्दै अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्रै रेड लिस्ट मा रहने घोषणा गरेको हो । यसअघि नेपालसहित ५४ ओटा मुलुक रेड लिस्टमा थिए। नेपाललाई रेड लिस्टबाट हटाइएकाले नेपालबाट विद्यार्थीहरू आउन र अनुसन्धानसम्बन्धी कामका लागि ब्रिटिश अनुसन्धानकर्ताहरू नेपाल जान सजिलो हुने भएको छ ।

साथमा नेपालमा भ्रमणमा जाने बेलायतीको संख्या पनि बढ्नेछ । बेलायतमा आफन्त भेट्न जाने नेपालीको यात्रा समेत सहज हुनेछ । अब यात्रुहरूले निगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्छ र प्यासेन्जर लोकेटर फर्म भर्नुपर्छ। यात्रा गर्नुभन्दा पहिला ब्रिटिश सरकारले जारी गरेको नियम पढेर वा आफ्नो ट्राभेल एजेन्टसँग राम्रोसँग बुझेर मात्रै यात्रा गर्नुपर्छ ।