मुगु बस दुर्घटनामा ३२ को मृत्‍यु

नयाँ पत्रिका दैनिकको अनलाईन संस्करण

काठमाण्डौ
मुगुमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको नयाँ पत्रीका दैनिकका  लागि मुगुबाट अच्युत राज भण्डारीले लेखेका छन् ।  मृतकमध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप चारजनाको उद्धार गरी रारा विमानस्थलमा पुर्‍याई जहाजमा राख्ने क्रममा र चारजनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) चित्रबहादुर भट्टराइले जानकारी दिएको पनि नयाँ पत्रीकाको उक्त रिपोर्टमा जनाईएको छ ।  

घाइतेमध्ये तीनजनालाई हेलिकाेप्टर र १२ जनालाई हवाई जहाजमार्फत उपचारका लागि पठाइएकोमा थप चारजनाको अस्पतालमा मृत्यु भएको हो। डिएसपी भट्टराईका अनुसार कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा एक र नर्सिङहोममा थप तीनजनाको मृत्यु भएको हो। 

नेपालगन्जदेखि मुगु सदरमुकाम आउँदै गरेको भे.१ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो करिब १ बजेतिर छायानाथ रारा नगरपालिका– ७ तपने खोलामा दुर्घटना भएको थियो। बस सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो। दसैँ मनाउन घर फर्केका स्थानीय बासिन्दा घर पुग्न नपाउँदै दुर्घटनामा परी ज्यान गुमाएका छन्। बसमा सवार ४३ यात्रुमध्ये अधिकांश विद्यार्थी रहेका बुझिएको छ।

मृतकहरूको सनाखतका लागि आर्मीको ट्रक र निजी गाडीहरूमा राखेर शव जिल्ला अस्पताल पठाइएको उनले जानकारी गराए। चालकको साइडतिरको टायर पंचर भएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

( यो समाचार नेपालस्थित नयाँ पत्रीका दैनिकको लागि अच्युत राज भण्डारीले मुगूबाट लेखेका हुन । समाचार हुबहु सभार गरी हामीले पुन प्रकाशित गरेका हौ )