मनसुन सकिएपछि आएको वर्षाले देशभर ३० को मृत्यु, ३२ बेपत्ता

File Photo

काठमाडौं । मनसुन सकिएपछि देशभर आएको विनासकारी वर्षाले ३० जनाको मृत्यु भएको छ । यो तथ्यांक बुधबार बिहानसम्मको हो । यस अवधिका ३२ जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ । देशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मंगलबार मात्र ३० जनाको मृत्यु भएको हो । घटनामा ३२ जना बेपत्ता र १२ जना घाइते रहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक छ । केन्द्रका अनुसार बैतडीको मंगलबार राम पार्कीको घर भत्किँदा दुई महिला र एक बालकको पुरिएर मृत्यु भएको छ । बैतडीमा सुर्नैया गाउँपालिका ५, विष्टपालीमा पहिरो जाँदा ७१ वर्षीया पारुदेवी महराको मृत्यु भएको छ । घटनामा दुई जना घाइते छन् । धनकुटास्थित चौविसे गाउँपालिका१, गेडेरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । घरभित्र रहेका १२ जनामध्ये ६ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिकामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र दुई घाइते छन् । प्रहरीका अनुसार जोरायल गाउँपालिका ३ मा जोगी सार्कीको घर पहिरोले पुरिँदा ६३ वर्षीय उनको मृत्यु भएको छ । वडा नं.४ मा शेरबहादुर विकसहित उनको परिवारका ४ जनाको मत्यु भएको तथ्यांक छ । शिखर नगरपालिका११ मा ३६ वर्षीया मन्धरा बलायर बाटोमा हिँडिरहँदा माथिबाट ढुंगासहितको पहिरो खस्दा उनको मृत्यु भएको छ । सायल गाउँपालिका ५ मा हिरुवा लोहारको मृत्यु भएको छ । उनको घरमा दुई जना घाइते छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका५, खरेलमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् । इलाममा पहिरो जाँदा तीन जनाको मृत्यु र ५ जना बेपत्ता छन् । दउमाईमा खोलाले बगाउँदा ४५ वर्षीया सरिता आचार्यको मृत्यु भएको छ । फाकथोक थुङ गाउँपालिका१, ठिंगुरेमा घर पुरिँदा २ जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । सल्लेरीमा पहिरो जाँदा चार जना बेपत्ता छन् । पाँचथरमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । फाल्गुनन्द गाउँपालिका ३ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र ६ जना घाइते छन् । कुम्बाक गाउँपालिका १, लाक्टोपामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । फिदिम ४, जोरसालमा पनि दुई जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपािलका ५ मा एक जनाको मृत्यु भएको छ । उदयपुरमा बाढीले एक जना बगाएको छ । त्रियुगा नगरपालिका ५, खोरिया खोला तर्ने क्रममा ४० वर्षीया टुकबहादुर खड्कालाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।