प्राकृतिक विपत्तीमा ज्यान गुमाएकाका परिवारलाई कांग्रेसले २५ हजार दिने

काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई २५ हजार रूपैयाँ दिने भएको छ । पार्टीको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले विज्ञप्ती निकाल्दै यस्तो जानकारी गराएको हो । संयोजक मोहनबहादुर बस्नेतका अनुसार बाढीपहिरोमा परेर मृत्यु भएका प्रति मृतक परिवार २५ हजार राहत उपलब्ध गराइने भएको छ । कांग्रेसले यसअघि पनि विपदमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

संयोजक बस्नेतले बाढीपहिरो पीडितको उद्धार तथा राहतमा जुट्न सबैमा आह्वान समेत गरेका छन् । नेपालमा मंगलबारयताको बाढी र पहिरोले देशभर ठूलो मानवीय तथा भौतिक क्षति गरेको हो । यसअघि सरकारले पनि मृतक परिवारलाई २ लाख दिने निर्णय गरिसकेको छ । सरकारी सहयोगको हस्तान्तरण आजबाटै शुरु हुने भएको छ ।