काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । ब्याजदरमा नेपाल राष्ट्र बैंकक हस्तक्षेपपछि बुधबार ६० अंकले बढेको बजार आज फेरि दोहोरो अंकले घटेको हो ।
सूचकसँगै जस्तै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार करिब साढे २ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सेयर बजार मापक सूचक नेप्से आज १४.७० अंकले घटेर २५५६.९६ विन्दुमा आइपुगेको छ । यसदिन २१६ कम्पनीको २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँ बराबरको ६१ लाख ६ हजार ४५२ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने १० वटा समूह्को परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै १.३० प्रतिशतले बढेको छ व्यापार समूह २.१९ प्रतिशतले घटेको छ ।
आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, माछापुच्छ बैंक साढे ११ करोड र नबिल बैंक ९ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।
दोहोरो अंकले घटेको बजारमा आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ५.८७ प्रतिशत गुमाएका छन् ।
यस्तै, गुडविल फाइनान्स ५.०९ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट, फर्स्ट माइक्रोफाइनान्स, महुली सामुदायिक लघुवित्त र सेन्टर फाइनान्सको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
घट्दो बजारमा आज मेरो माइक्रोफाइनान्सको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।