काठमाडौं । कार्तिक महिनाको २ गते यता लगातार २ दिन पानी पर्दा १२ स्थानमा सडक पहिरो गएको छ । सडकमा पहिरो जाँदा पूर्वदेखि पश्चिम सबैतिरका सडक हाल अवरुद्ध अवस्थामा रहेका छन् । केही सडक खुल्ने अनिश्चत रहेको छ । केही सडकहरु २/४ दिनमा खुलाउने सडक विभागले जनाएको छ ।
लगातार परिरहेको पानीले सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको भालु पहाडमा पहिरो गएको छ । उक्त सडक खण्डमा बिहीबार बिहान पहिरो जाँदा बेलहिया–भैरहवा–ब्टवल–बर्तुङ–राम्दी–स्याङ्जा–पाखेरा सडक खण्डको यात्रा अबरुद्ध हुन पुगेको छ ।
पुष्पलाल राजमार्ग अन्तर्गत सिन्धुलीको सुर्कोट घुर्मी खण्डको अक्करे भिर तथा सोखु खोलामा पहिरो गएको छ । कार्तिक २ गते मंगलबारदेखि पहिरोका कारण बन्द सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन ।
पुष्पलाल राजमर्गको ओखलढुंगाको हिलेपानी जयराम घाट हलेसीमा समेत लगातार वर्षाका कारण पहिरोले सडक बन्द अवस्थामा रहेको छ ।
यस्तै, धनगढी–सहजपुर–वुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिङ्कर दार्चुला बोडरको ३ किलोमिटर पर किम्तडीमा पहिरो गएको हो । कार्तिक २ गतेबाट बन्द अवस्थामा रहेको उक्त सडक खण्ड खुल्न अझै ३ दिन समय लाग्ने अनुमान गरिएको छ ।
बझाङको खोड्पे–चैनपुर सडक खण्डमा जालिबगर नारुगाडमा पहिरो गएर सडक बन्द भएको छ । उक्त सडक खुलाउन २० दिन जति लाग्ने अनुमान गरिएको छ । सो सडक बन्द भएको ३ दिन भइसकेको छ ।
लगातार वर्षाका कारण धनकुटाको लेउती खोलामा समेत पहिरो गएको छ । ७ गते लगातार वर्षापछि पहिरो गएको सो सडक ३ दिनभित्र सञ्चालनमा आउने अनुमान गरिएको छ । उक्त सडक बन्द हुँदा रानी–विराटनगर–इँटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्टार–खाँदवारी–नुम–किमाथाङ्का सडक खण्डका यात्रुहरु बाटोमै रोकिएका छन् ।
यस्तै कार्तिक २ गते प्युठानको गनाहा चकचके खण्डमा पहिरो गएर सडक खण्ड बन्द रहेको छ । भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट खण्डका सडकहरु हाल अवरोध रहेका छन् । हालसम्म उक्त सडक खुल्ला गर्ने अनिश्चित रहेको सडक विभागले जनाएको छ ।
सल्यानको अरिंग्लेफेदीमा पहिरो गएर सडक बन्द अवस्थामा रहेको छ । २ गते वर्षापछि बन्द रहेको उक्त पहिरोले अमेलिया–तुल्सिपुर–शितलपाटी–थारमारे–मुसीकोट सडकका यात्रुहरु बाटोमै बिच्ल्लीमा परेका छन् । उक्त सडक ३ दिनभित्र खुल्ने अनुमान गरिएको छ ।
मनाङको बेंशीसहर–चामे सडकको खात्रो, निगालाघारी र दानाक्युमा पहिरो गएको छ । उक्त स्थानमा कार्तिक २ गते लगातार पानी परेपछि पहिरो गएर सडक बन्द भएको हो । उक्त सडक ४ दिनभित्र खुल्ने अनुमान गरिएको छ ।
सिन्धुलीको कमेरे फांटमा कार्तिक २ गते पहिरो गएर सडक बन्द भएको छ । उक्त खण्डमा २ दिन भित्र सडक खुल्लाउने अनुमान गरिएको छ । उक्त पहिरोले विपी राजमार्ग अन्तर्गको वर्दिवास–सिन्धुली–खर्कोट–धुलिखेल सडक खण्ड अवरोध गरेको छ ।
कालिकोटको हुल्म, शेरिघाट, मोल्फा, पिली, राँचुलीमा पहिरो गएको छ । कार्तिक २ गते गएको पहिरोले सुर्खेत तल्लो हुङगेश्वर–सातखम्बा–दुल्लु–पिलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक खण्डको यात्रा अवरोद गरेको छ । उत्त, सडक ३ दिन भित्र खुल्ला गर्ने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा कुल २३९ सडकहरुमा बाढी, पहिरोले सडक अवरुद्ध भएका छन् । सो मध्ये ८ वटा सडक पूर्ण अवरुद्ध अवस्थामा रहेका छन् । १३३ सडक खण्डहरुमा एकतर्फी सडक सुचारु गरिएको सडक विभागले जनाएको छ । ९८ वटा सडकमा भने दुवैतर्फ सडक सुचारु गरिएको छ ।