काठमाडौं । पूर्व न्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीश चाेलेन्द्र समसेर जबराको भूमिकामाथि प्रश्न खडा भएको बताएको छ । पूर्व न्यायाधीशहरुको फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशको कामले प्रश्न खडा गरेको बताएको हो ।
‘संवैधानिक प्रावधान भन्दा माथि रहेको प्राकृतिक न्याको सिद्धान्तको परिपालना गर्नुको सट्टा न्यायाधीश विपक्षी बनाइएको मुद्दामा आफैं न्यायकर्ता हुनेगरी संवैधानिक इजलासमा प्रधानन्यायाधीश आफैं सामेल हुने अभिरुची र प्रयासले सम्पूर्ण न्यायिक मूल्य र मान्यता समाप्त हुने गम्भीर खतरा उत्पन्न हुनुका साथै प्रधानन्यायाधीशको भूमिका उपर नै यथार्थ परक रुपमा शंका खडा भएको छ ’, विज्ञप्तिमा भनिएको छ ।
साथै विज्ञप्तिमा संवैधानिक परिषद् सम्बन्धी विवाद सुनुवाइका लागि भाद्र ११ गते गठित संवैधानिक इजलासमा विपक्षी बनाइएका प्रधानन्यायाधीशको उपस्थितिबारे रिट निवेदनबाट प्राकृतिक न्यायको सिद्धान्तको पूर्ण पालनाको माग गरिरहँदा पनि प्रधानन्यायधीशबाट लिखित आदेश नहुनु र अर्को दिनको सुनुवाईमा आफू अनुपस्थित हुने भनी मौखिक जानकारी मात्र गराइनुले अदालती प्रक्रिया र पद्धतिको बेवास्ता गरिरहेको आरोप लगाइएको छ ।
‘मुलुकको न्यायाधिक प्रक्रियालाई संविधान र कानून बमोजिम व्यवस्थित गराउने अन्तिम जिम्मेवारी बोकेको प्रधानन्यायाधीबाट नै कार्यविधि कानूनको उल्लंघन हुनुले न्यायापालिकाको वर्तमान र भविष्यप्रति गहिरो चिन्ता बढाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।