काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साता बेलायत भ्रमणमा जाँदैछन् । जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिट आयोजना हुने ग्लास्गो सहरमा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री देउवा बेलायत जान लागेका हुन् । उनको टोलीमा दुई दर्जन प्रतिनिधि रहने भएका छन् । लण्डस्थित नेपाली दूतावासले भ्रमणको समन्वय गरिरहेको छ ।
प्रधानमन्त्रीको भ्रमण ५ दिने हुने छ । सो अवसरमा प्रधानमन्त्री देउवाले बेलायती मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने भएका छन् । प्रधानमन्त्री आगामी शुक्रवार (अक्टोबर २९)मा साँझ लण्डन पुग्नेछन्। त्यहाँ पुगेको भोलिपल्ट देउवाले बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्ने छ ।
देउवाले नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैर आवासीय नेपालीसँग छुट्टै अन्तरक्रियासमेत गर्ने सम्भावना रहेको छ । प्रधानमन्त्री देउवा आइतबार लण्डनबाट समिट आयोजना हुने ग्लास्गो सहर जाने छन् । उनीहरु नोभेम्वर १ र २ गरि दुई दिन ग्लास्को सहरमा रहने छन् । देउवाले समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।