नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि, सबै समूहको परिसूचक हरियाली

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । आइतबार करिब २८ अंकले बढेको बजारमा आज उच्च अंकको बढोत्तरी आएको हो ।

पछिल्ला दुई दिनमै नेप्से ११४ अंकले बढेको छ । गत साता नेपाल राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेपछि बजारमा सकरात्मक प्रभाव देखिएको लगानीकर्ताहरु बताउँछन् ।

सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम डेढ अर्ब बढीले बढेर सवा ४ अर्ब पुगेको छ ।

सेयर बजार मापक सूचक नेप्से आज ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा पुगेको छ । यसदिन २२९ कम्पनीको ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ बराबरको ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स, विकास बैंक र हाइड्रोपावर समूहमा उछाल आएको छ । हाइड्रो र फाइनान्स सबैभन्दा धेरै साढे ७ प्रतिशतले बढेको छ भने विकास बैंक साढे ६ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका २२९ कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, अपी पावर र सिद्धार्थ बैंकको १३१३ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज साढे २ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मल्टी प्रपोज फाइनानस, सिनर्जी पावर, हिमालयन पावर, गुह्येश्वरी मर्चेन्ट, नेपाल हाइड्रो, शिवश्री हाइड्रो, दिब्यश्वरी हाइड्रो, राधी विद्युत्, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट, सांग्रिला डेभलपमेन्ट बैंक, सेन्टर फाइनानन्सको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, अरुण काबेली, युनिभर्सल पावर, युनियन, हिमाल दोलखा, ग्रीन लाइफ हाइड्रोपार र बेस्ट फाइनान्सका सेयरधनीले पनि ठ्याक्कै १० प्रतिशत कमाएका छन् । त्यस्तै, अरुण भ्याली, युनाइटेड इदी मार्दी, आँखुखोला, वरुण हाइड्रोपावर, एभरेष्ट इन्स्योरेन्स, माउन्टेन इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, माउन्टेन हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

बढ्दोे बजारमा आज मेरो माइक्रोफाइनान्सको सेयर मूल्यमा भने सबैभन्दा धेरै ३.९७ प्रतिशतले घटेको छ ।