सुडानमा ‘सैन्य कु’ पछि भएका झडपमा कैंयौं मानिस मारिए

SUPPLIED\BBC

काठमाडौं । सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाएको छ । घटनामा कम्तीमा सात जना मारिएको र करिब १४० जना घाइते भएको बीबीसीले लेखेको छ । सशस्त्र फौजले सोमवार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैर सैनिक शासन विघटन गर्दै सङ्कटकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा आएका छन् । सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शन आयोजकहरूलाई पक्राउ गरेको छ । सैन्य कूको विश्वभरि निन्दा गरिएको छ र अमेरिकाले सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर समेत रोकेको छ।

कूको नेतृत्व गरेका जनरल अब्देल फतह बुर्हानले सैन्य कदमका लागि दलहरूबीचको राजनीतिक झगडालाई दोष लगाएका छन्। सुडानमा लामो समय शासन गरेका ओमार अल(बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र गैर सैनिक नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ।

सोमवार सेनाले शासन हातमा लिएपछि राजधानी खार्तुमका सडक र अन्य सहरहरूमा प्रदर्शनकारी ठूलो सङ्ख्या भेला भएर गैर सैनिक शासनको माग गरेका छन् । अहिले सुडानमा विमानस्थल बन्द छ र अन्तर्राष्ट्रिय उडानमाथि रोक लगाइएको छ। इन्टरनेट र धेरै फोन सेवाहरू पनि बन्द गरिएका छन्। केन्द्रीय बैङ्कका कर्मचारीहरू देशैभर आन्दोलनरत छन् ।