फाइजर खोप ५ वर्ष माथिका बालबालिकालाई दिन अमेरिकी विज्ञको सिफारिस

Photo : Dan Stepenosky| LATIMES

वासिंटन डिसी । अमेरिकी सरकारको एक विज्ञ प्यानलले फाइजर-बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिन सकिने गरि सिफारिस गरेको छ। बीबीसीका अनुसार त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) का विज्ञहरूले मङ्गलवार उक्त कदमको समर्थन गरेका हुन् । अब अमेरिकामा अनुमति प्रक्रिया अगाडी बढ्ने छ । सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको थियो।

अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो। यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुने भएका हुन् । अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले थप अनुमति दिनुपर्छ। ती निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने ठानिएको छ ।

एफडिएका विज्ञहरूको टोलीले खोप लगाउनुको फाइदा त्यसले निम्त्याउनसक्ने अन्य स्वास्थ्य खतराभन्दा बढी हुने भन्दै त्यसप्रति आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। कम्पनीको परीक्षण विवरण गत सेप्टेम्बरमा नियामकहरूलाई पठाउँदा उनीहरूले उक्त उमेर समूहमा खोपले राम्रो प्रतिक्रिया देखाएको जनाएका थिए। ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनेछ।