लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीले नेपालमा मताधिकार नपाउने बताएका छन् । शनिबार गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा नेपाली दूतावास लण्डनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। राससका अनुसार विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने भन्दै त्यसका लागि संविधान नै बद्ल्नुपर्ने बताए । यो तत्काल सम्भव नभएको उनको भनाई छ ।
जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन ब्रिटेन आइपुगेका प्रधानमन्त्री देउवाले प्रवासी नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी भित्र्याउन मद्दत गर्न आह्वान गरेका छन् । ‘अरु के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु,’ उनले भने। उनले पर्यटकहरुलाई विमानस्थलमै भिसा दिने सुविधा (अन एराइभल भिसा) सरकारले फेरि सुरु गरेको बताए ।
गत वर्ष कोभिड १९ रोकथामका लागि भन्दै पहिलो लकडाउन गरेपछि नेपाल सरकारले अन एराइभल भिसा दिन स्थगित गरिदिएको थियो। प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न सरकारले सक्दो पहल गर्ने बताए । त्यसअघि एनआरएनए यूकेको तर्फबाट अध्यक्ष प्रेम गाहा मगरले एक ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाएका थिए।
ज्ञापनपत्रमा भूपू गोर्खा समस्या, नेपाली नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरुले राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा भूपू गोर्खा समस्या, नेपाली नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरुले राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको छ ।
सोही अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता विधेयक जति सक्दो छिटो संसदबाट पारित गरी लागू गर्न आग्रह गरेका थिए। प्र‘धानमन्त्री देउवा नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका छन् ।