शुरु भयो तिहार, काग र कुकुर तिहार भने भोली एकै दिन

Photo : THT

काठमाडौं । नेपालीको दोस्रो महान चाड तिहार शुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको हो । मङ्गलबार साँझ यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले उल्लेख गरेको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार भने बुधबार एकै दिन परेको छ ।

बुधबार बिहान ७ : १४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ : १४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो । यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

यसैगरी धन्वन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाई, गोरु र आत्म पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । यसै दिनदेखि नेपाल संवत् ११४२ शुरु हुन्छ ।