प्रदेश १ र कर्णालीमा आज नयाँ सरकार बन्ने

काठमाडौं । कर्णाली र प्रदेश एकमा आज नयाँ सरकार बन्दैछ । यसअघि दुबै प्रदेशका मूख्यमन्त्रीले सोमबार राजिनामा गरेका थिए । प्रदेश एकमा अल्पमतमा परेपछि भीम आचार्यले पद छाडेका हुन् । कर्णालीमा भने गठबन्धनको सहमतीका आधारमा महेन्द्र बहादुर शाहीले सत्ता छाडेका छन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गरेका छन् ।

कर्णालीमा अब कांग्रेसको नेतृत्वमा सरकार बन्दैछ । गत बैशाख २ मा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीचको सहमतिअनुसार ६ महिनापछि कांग्रेसलाई नेतृत्व दिने भनिएको थियो । कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही अब मुख्यमन्त्री बन्दैछन् ।

उता, प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै राईले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनी आजै मूख्य मन्त्री बन्ने र सथप लिने तयारी छ ।