बाइडेन र मोदीसँग प्रधानमन्त्री देउवाको भेट

RSS

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच औपचारिक भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भने देउवाको साइडलाइन भेट भएको हो । विश्व जलवायु सम्मेलन (कोप २६) मा भाग लिन स्कटल्याण्डको ग्लास्गो पुगेका बेला उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा विभिन्न देशका नेताहरूसँग भेटघाट गर्ने क्रममा उच्च स्तरीय भेटमा आज व्यस्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदीसँगको भेटमा द्धिपक्षीय सम्बन्ध सुधारका विषयमा छलफल भएको बताइएको छ । दुबै प्रधानमन्त्रीले एक अर्कालाई भ्रमणको औपचारिक निमन्त्रण समेत दिएका छन् । देउवा सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार संयुक्त अधिराज्य पुगेका हुन् ।