प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो ।

४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका राईलाई प्रदेश प्रमुख ‘प्यासी’ले नियुक्त गरेका थिए । मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट २ र बाँकी दलबाट १÷१ जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

मुख्यमन्त्री राईले नेपाली काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, नेपाली काँग्रेसका प्रमुख सचेतक रहेका केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरे ।

उता, कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको दाबी गरको छन् । मंगलबार प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी समक्ष काँग्रेस नेता शाहीले २१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

मुख्यमन्त्रीमा शाहीलाई माओवादी केन्द्रसहित नेकपा (एकिकृत समाजबादी) पार्टीको समर्थन रहेको छ । दाबी पत्रमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ र समाजबादीका तीन जना गरी २१ जनाको हस्ताक्षर छ ।