काठमाडौं । एमाले पार्टी निर्माणमा आफ्नो जिवनको महत्वपूर्ण समय खर्च गरेका नेता माधव कुमार नेपालको पार्टीबाहेक अन्य सबै पार्टीलाई एमालेले महाधिवेशन उद्घाटन समारोहमा निम्दा दिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा विदेशी पाहुनालाई समेत निमन्त्रणा दिइएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको पार्टीको प्रचार विभागले जनाएको छ ।
आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले यस्तो जानकारी गराए । तर, माधव कुमार नेपालको पार्टीलाई भने निम्ता नदिने उनको भनाई छ ।
विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने भट्टराईले बताए । नेकपा एकीकृत समाजवादी पहिचान स्थापित भइनसकेको पार्टी भएकाले त्यसलाई आमन्त्रण गरिरहनुनपर्ने उनको भनाई छ । नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने भएको छ ।
विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ ।