काठमाडौं । इरान र अन्य ६ मुलुकबीच सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौतालाई ब्यूँताउने उद्देश्य राखेर गर्न लागिएको वार्ता यसै महिना आयोजना हुने भएको छ । बीबीसीका अनुसार इरानका प्रमुख वार्ताकार अली बगेरी कनीले सरकारले नोभेम्बर २९ मा वार्ताका लागि भियनामा भेट्न सहमति जनाएको बताएका छन् ।
इरानमा गत जुन महिनामा कट्टरपन्थी नयाँ राष्ट्रपति निर्वाचित भएयता वार्ताको प्रंक्रिया अवरुद्ध थिए । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका पालामा उक्त सम्झौताबाट अमेरिका पछि हटेको थियो । वासिङ्टनले भने त्यसयता फेरि सामेल हुनसक्ने बताउँदै आएको छ। बाइडन प्रशासनले भियनामा हुने वार्ताका लागि अमेरिका उपस्थित हुने जनाएको छ।
उक्त वार्तामा सम्झौताका अन्य हस्ताक्षरकर्ता यूके, चीन, फ्रान्स, जर्मनी र रुस पनि उपस्थित हुने भएका छन् । बुधवार आफ्नो ट्वीटरमा प्रमुख वार्ताकार कनीले ूगैरकानुनी र अमानवीय प्रतिबन्धहरू हटाउने उद्देश्य राखिएको वार्ता नोभेम्बर २९ तारिखमा भियनामा हुने सहमति भएको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले यदि इरानका प्रतिनिधिहरू गम्भीरू् भए सम्झौतामा छिट्टै पुग्न सकिने बताएका छन् ।
इरानका राष्ट्रपति इब्राहिम रइसीले वार्तामा कडा अडान राख्ने ठानिएको छ। पश्चिमा देशहरूले इरानलाई वार्तामा पुनः सहभागी हुन महिनौँदेखि आह्वान गर्दै आएका छन्। सन् २०१५ मा भएको सम्झौता अनुसार, इरानले युरेनियम प्रवर्द्धनमा रोक लगाउनेमा सहमति जनाएको थियो।