काठमाडौं । चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको छ ।
चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज भेरोसेल खोप प्रदान गरेको हो ।
सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।
सो क्रममा प्रधानसेनापति शर्माले यस सहयोगको लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेका थिए ।
यस किसिमको सहयोगबाट नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने सेनाले विश्वास लिएको छ ।