सत्तारुढ गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति

File RSS

काठमाडौं । सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति बनाएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमवार दिउँसो बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट दुई जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाएको हो ।

सबै राजनीतिक दलहरूले दुई\दुई महिना संयोजन गर्ने समन्वय समितिमा कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ छन् । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र दुर्गा पौडेल तोकिएका छन् ।

नेकपा एकीकृत समाजवादीको एक जना र जनता समाजवादी पार्टीको एक जनाको नाम भने पछि आउने गरी दुई\दुई जना सदस्य रहेको र मन्त्रीहरूको तर्फबाट आफूसमेत सहभागी हुने गरी सत्तारुढ गठबन्धनको पाँच दलीय गठबन्धन समन्वय समिति निर्माण गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता कार्कीले जानकारी गराएका छन् ।

समितिको पहिलो दुई महिनाको संयोजक रामचन्द्र पौडेललाई तोकिएको छ । प्रधानमन्त्री देउवा अनिवार्य रूपमा उपस्थिति हुने यो समितिको मूल उद्देश्य संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नागरिकको अपेक्षाअनुसार सरकारलाई काम गराउन सहयोग गर्नुरहेको पनि मन्त्री कार्कीले जानकारी दिए ।