काठमाडौं । पोल्याण्डले बेलारुससँगको पूर्वी सीमामा आफ्नो देश प्रवेश गर्न खोज्ने हजारौं आप्रवासीलाई रोकेको छ । बीबीसीका अनुसार हजारौँ अझै त्यसतर्फ आइरहेको जानकारी समेत पोल्याण्डले जनाएको छ । भिडिओ सामाग्रीहरूमा सयौँ मानिसहरू फलामे तारले बारिएको सीमानजिक देखिन्छन् जसमा केहीले उक्त अवरोध पार गर्दै अघि बढ्न खोजेको देखिन्छ। पोल्याण्डको सरकारले सोमवार एउटा आपत्कालीन बैठक बोलाउँदै उक्त क्षेत्रमा १२ हजार फौज खटाएको छ। पोल्याण्डले बेलारूसलाई आप्रवासीहरूलाई सीमातर्फ धकेलेको आरोप लगाउँदै त्यसलाई शत्रुतापूर्ण कार्य भनेको समेत बीबीसीले लेखेको छ ।
पोल्याण्ड, लिथुआनिया र लाट्भियाले पछिल्ला महिनामा बेलारुसबाट गैरकानुनी रूपमा आफ्नो देश प्रवेश गर्न खोज्ने आप्रवासीहरूको सङ्ख्या बढेको बताएका छन्। ती धेरैजसो मध्यपूर्व र एसियाबाट आएका आप्रवासी रहेको बताइएको छ । आप्रवासी र शरणार्थीहरूलाई रोकेकोमा आलोचित बनेको पोल्याण्डले एउटा ठूलो सङ्ख्यालाई फलामे तारले घेरेर राखेको समेत जनाइएको छ ।