काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चार दिने औपचारिक भ्रमणका सिलसिलामा आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन् । दिल्लीमा उनले उच्चस्तरीय भेटवार्ता गर्ने छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई सहजीकरण गर्न समेत उनको भ्रमण महत्वपूर्ण हुने विश्वास लिइएको छ । यही भ्रमणका क्रममा उनले भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मानसमेत ग्रहण गर्दैछन् ।
शर्माले मंगलबारै भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेसँग भेटवार्ता गर्ने भएका छन् । भारतमा जल र हवाई सेनाका प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको सेनाले जानकारी गराएको छ । नेपाली सेनाका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्न आग्रह गरिएको छ। तर, यो भेट हुने नहुने भने निश्चित भइसकेको छैन । उनी भारतका सेनाध्यक्ष नरवणेको निमन्त्रणामा भारत जान लागेका हुन् । प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट बुधबार सम्मान गर्ने छन् ।