काठमाडौं । बहराइनले नेपाललाई कोरोना भाइरसको जोखिम रहेका मुलुकको रेड लिस्टबाट हटाएको छ । नेपालमाथिको यात्रा प्रतिवन्ध हटेसँगै अब नेपाली श्रमिककले बहराइनमा यात्राको अनुमति पाउने छन् । नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको बहराइनस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।
कोरोना सङ्क्रमण रोकथामका लागि बहराइनले विभिन्न मुलुकलाई रेड लिस्टमा राखेको थियो । नोभेम्बर १४ अर्थात् भोलि शनिबार राती १२ बजेदेखि बहराइनले नेपाललाई रेड लिस्ट कन्ट्रीबाट हटाउने निर्णय गरेको बहराइनमा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ ।
बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिकहरू रोजगारीका लागि बहराइन जान पाउने छन् । विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू बहराइन पुगेपछि क्वरेण्टीन बस्न पर्दैन । बहराइन यात्रा गर्ने यात्रुले साथमा क्युआर कोडसहितको अङ्ग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्नेछ ।
खोप नलगाएका वा एक मात्रा मात्र लगाएका यात्रुले भने त्यहाँ पुगेपछि आफ्नो बसोबास भएकै ठाउँमा वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा १० दिन क्वरेण्टीनमा बस्नुपर्छ । खोप लगाएका र खोप नलगाएका दुवै यात्रुले बहराइन पुगेपछि विमानस्थलमा र पाँचौँ तथा दसौँ दिनमा पीसीआर परीक्षण गर्नुपर्छ ।