न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

भोजपुर । न्यायालयमा चर्किएको विवादबारे सत्तारुढ गठबन्धनको साझा धारणा आउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । अहिले प्रधानन्यायाधीशको राजिनामा गर्दै वकिलहरु आन्दोलनमा छन् । यस विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा आउने प्रचण्डले जानकारी गराए । माओवादी केन्द्र भोजपुरले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा दाहालले ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो नभएको समेत बताए ।

सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुने भन्दै उनले यस विषयमा साझा धारणा छिट्टै बाहिर ल्याइने समेत बताए । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र विरोधी तथा प्रतिगामी तत्वले राजनीतिक व्यवस्था उल्ट्याउन कोसिस गरिरहेको र त्यसका लागि कहिले संसद र कहिले न्यायालयबाट प्रयास भइरहेको उनको भनाई छ ।

जनताको चेतना र राजनीतिक नेतृत्वको विवेकका कारण यस्ता तत्व सफल हुन नसकेको उनले बताए । प्रतिगामी षड्यन्त्रमा नेकपा एमालेका नेता केपी शर्मा ओली, राजावादी र विदेशी शक्तिसँग मिलेको आरोप उनले लगाए ।