न्युयोर्कमा भव्यरुपमा मनाइयो नेपाल संवत ११४२ र म्ह:पूजा

बिके नेवा, न्युयोर्क

नेवा गुठीले अमेरिकाको न्युयोर्क सहरमा नेपाल संवत ११४२ र म्ह पूजा भव्यरुपमा मनाएको छ ।
न्युयोर्कको ज्याक्सन हाइटमा एक समारोह गरी रातो टीकाले साइत गर्दै उसिनेको अण्डा र माछाको सगुन दिई पाहुनाहरुको स्वागत गरिएको थियो । त्यस अवसरमा भिन्तुनाको शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा गुठीका उपाध्यक्ष राजेन्द्र महर्जनले स्वागत गरेका थिए । न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका काउन्सिलर गणेशप्रसाद अधिकारीले नयाँ वर्ष ११४२ को अवसरमा सवैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाल संवत नेपालको मौलिक संवत भएकोले यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेवा गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन, भूपू अध्यक्ष धर्मेन्द गोपाली, लोककवि राजभाइ जकमी, नेवा नखका उपाध्यक्ष महेन्द्र बज्राचार्य, माइकल मियन्कोले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा सहभागीहरु नेवारी वाजागाजाका साथ नाच्दै नगर परिक्रमा गरेका थिए । कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष विजयमान सिंहले धन्यवादसहित सभा विसर्जन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन गुठीका महासचिव सन्तोष महर्जनले गर्नुभएको थियो ।
सोही साँझ गुठीले नेवारी परम्परा अनुसार सामूहिक म्ह पूजा भव्यरुपमा सम्पन्न गर्यो । म्ह पूजासँगै सामूहिक नेवारी भोज पनि आयोजना गरिएको थियो । म्ह पूजामा फिफ्नाका अध्यक्ष लोक च्यामजुंगले शुभकामना व्यक्त गर्नुभएको थियो ।

गुठीका निवर्तमान र वर्तमान पदाधिकारीहरु, सहयोगीहरु तथा स्पोन्सरहरुलाई नेवा गुठीका संस्थापक बीके नेवा, गुठीका भूपू अध्यक्ष आदित्य महर्जन, धर्मेन्द्र गोपाली र निर्मल प्रधानले सम्मानपत्र प्रदान गर्नुभएको थियो । त्यसैगरी लोककवि राजभाइ जकमीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गुठी कार्य समितिका सदस्य सजना महर्जनले स्वागत भाषण गर्नुभएको थियो । गुठीका अध्यक्ष विजयमान सिंहले समापन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिव सन्तोष महर्जनले गर्नुभएको थियो ।