काठमाडौं । चीनले अमेरिकालाई ताइवानको पक्षपोषण नगर्न कडा चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार मंगलबार चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी समकक्षी जो बाइडेनलाई यस्तो चेतावनी दिएका हुन् । बीबीसीका अनुसार ताइवानको पक्षपोषण गर्नु अमेरिकाका लागि प्रत्युपादक हुन सक्ने चेतावनी उनको छ । दुई नेताबीच भर्चूअल माध्यमबाट भएको वार्ताका क्रममा सीले बाइडेनलाई ताइवानले खोजे जस्तो स्वतन्त्रतालाई प्रोत्साहन गर्नु आगोसँग खेले जस्तै हुने चेतावनी दिएका छन् ।
वार्ता सौहार्दपूर्ण वातावरणमा भएको र दुबै नेताले सम्बन्ध सुधारमा जोड दिएका थिए । तर, ताइवानको सन्दर्भमा भने चीनले कडा अडान राखेको छ । उनीहरूको वार्ता पनि दुई देशबीच तनाव कम गर्ने कुरामा केन्द्रित भएको बताइएको छ । चीनले ताइवानलाई आफ्नै भूभाग मान्ने र पुनः एकीकरण गर्ने उसको इच्छा रहेको समेत समाचारमा जनाइएको छ ।
अमेरिकाको चीनसँग दौत्य सम्बन्ध छ। तर आक्रमण भएको अवस्थामा उसले ताइवानलाई रक्षा गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्ता कदमहरू अत्यन्तै खतरनाक छन्। आगोसँग खेले जस्तै। आगोसँग खेल्ने जोकोही जल्ने सीले बताएको बीबीसीले लेखेको उल्लेख छ । ह्वाइट हाउसले भने बाइडनले यथास्थिति परिवर्तन गर्न वा ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई कमजोर पार्न एकपक्षीय प्रयासको कडा विरोध गरेको उल्लेख गरेको छ ।