कतारविरुद्ध नेपाली महिला क्रिकेट टीमको रवाफिलो जित

दोहा । नेपालले पहिलो टी२० अन्तर्राष्ट्रिय सिरिजमा सानदार शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा कतारमाथि ११९ रनको फराकिलो अन्तरको जित निकाल्दै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोहामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इन्दु वर्माको कीर्तिमानी अर्धशतकीय पालिको सहयोगमा १४६ रन जोड्यो ।

जवाफी ब्याटिङमा उत्रिएको कतार ११.५ ओभरमा मात्र २७ रन बनाउँदा अलआउट भयो । कप्तान रुविना क्षेत्रीले मात्र एक रनमा तीन विकेट तथा कविता कुँवरले छ रनमा र सीता राना मगरले तीन रन खर्चेर दुई, दुई विकेट लिएका छन् । करुणा भण्डारीले दुई ओभरमा दुई रन मात्र खर्चेर एक ब्याटरलाई आउट गरिन् । कतारका लागि खाडिया इम्तियाज र एन्जेलिन मारेले आठआठ रन जोडे । नेपालको पालिमा भने इन्दुले ४७ बलमा ५५ रन बनाइन् ।