कम्पाला । युगाण्डाको राजधानी कम्पालामा भएको आत्मघाती विष्फोटमा कम्तिमा तीन जना मारिएका छन् । ३० भन्दा बढी घाइते भएको र त्यसमध्ये जना गम्भीर घाइते अवस्थामा उपचारार्थ भर्ना गरिएको छ । मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । मंगलवार तीन मिनेटको फरकमा दुई आत्मघाती विष्फोट भएका थिए । मारिनेमा प्रहरी समेत रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चरमपंथी संगठन इस्लामिक स्टेट (आईएस) समूहले यो विष्फोटको जिम्मेवारी लिएको छ । पुलिसका अनुसार मोटरसाइकलमा आएका हमलाकारीले संसद र प्रहरी मुख्यालय नजिकै आत्मघाती आक्रमण गरेका हुन् ।
शहरका अन्य स्थानमा समेत बम फेला परेको खबर छ । खतरा अझै रहेको प्रहरीका प्रवक्ता फ्रेड एनान्गाले बताएका छन् । एक आत्मघाती हमलाकारीलाई भने विष्फोट गराउनु अगाडी नै पक्राउ गरिएको छ । उनको साथमा विस्फोटक ज्याकेट भेटिएको छ ।