दोहा । नेपाली महिला क्रिकेट टीमले ऐतिहासिक सिरिज जितेको छ । कतारलाई लगातार दुई खेलमा हराएको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टी २० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो । नेपालले कतारलाई दोस्रो खेलमा बुधबार ६१ रनले हरायो । मंगलबार नेपालले कतारमाथि ११९ रनको फराकिलो जित निकालेको थियो । लगातार दोस्रो जितसहित नेपालले तीन खेलको शृङ्खलामा कब्जा जमाएको हो ।
नेपाल र कतारबीच अन्तिम खेल बिहीवार हुँदैछ । महिला क्रिकेट टोली पहिलो पटक सिरिज खेल्न मैदानमा उत्रिएको हो । जहाँ पहिलो यात्रामै सफलता मिलेको छ । बुधबार नेपालले टस जितेर दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट स्टेडियममा पहिले ब्याटिङ रोजेको थियो।
कप्तान रुबिना क्षेत्रीको ५० रनको अर्धशतकीय पालीको सहयोगमा नेपालले १२९ रन बनायो । ओपनर कविता कुँवरले ३१ रन बनाइन् । जबाफमा कतारले सबै विकेट गुमाउँदा मात्र ६८ रन बनायो । नेपालका लागि सरस्वती कुमारीले सर्वाधिक ४ विकेट झारिन् ।