बुद्ध एयरले अब दुर्गमका गन्तब्यमा पनि उडान गर्ने

File

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले अब दुर्गम भेगमा समेत उडान बिस्तार गर्ने भएको छ । रामेछापको मन्थली, पश्चिमका लागि पोखरा र सुदूरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर दुर्गममा उडान गर्ने योजना कम्पनीले सार्वजनिक गरेको हो । कम्पनीले २०२३ को प्रारम्भबाटै दुर्गम भेगमा उडानको योजना बनाइएको भन्दै आइतबार यस्तो जानकारी गराएको हो । सो प्रयोजनका लागि ट्विनअटर जहाज खरिद गर्ने समेत कम्पनीले जनाएको छ ।

शुरुआतमा चार वटा जहाज भित्र्याएर दुर्गम उडान शुरु गरिने भएको छ । त्यसपछि २०२४ मा दुई वटा जहाज थप्ने र सन् २०२६ भित्र आन्तरिक उडानमा मात्र जहाज संख्या ८ वटा पुर्‍याउने घोषणा समेत बुद्ध एयरले गरेको हो ।

दुबईमा जारी एयर शोमा ट्विनअटर जहाज निर्माता भाइकिङ एयर लिमिटेडका सेल्स एण्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव माराच्रसँग बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्रकुमार बस्नेतको भेटपछि बुद्ध एयरले दुर्गम भेगमा उडानको योजना सार्वजनिक गरेको हो । दुर्गमलाई सुगम, सहज र सबैको पहुँचमा लैजाने उद्देश्यसहित दुर्गममा उडान विस्तारको योजना रहेको समेत कम्पनीले जनाएको छ ।