कोरोनाका कारण बन्द उद्योग-व्यवसायमध्ये ८७ प्रतिशत संचालनमा

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा यस्तो देखाइएको छ । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ ।
सर्वेक्षणको नतिजा अनुसार ८७.२ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएका छन् ।  कोभिडपूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार भएर ७७.५ प्रतिशत बाट ९७.२ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकले २०७७ असारमा सम्पन्न गरेको सर्वेक्षणले बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग-व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग-व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो ।
तेस्रो पुनरावृत्ति सर्वेक्षण २०७८ कात्तिक महिनाको ७ गतेदेखि १७ गतेसम्म टेलिफोन अन्तरवार्तामार्फत सम्पन्न गरिएको हो । २०७७ असारमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ८१ प्रतिशत अर्थात् ५४६ जना उद्योगी/व्यवसायीहरुले यस सर्वेक्षणमा सहभागिता जनाएका छन् । उद्योगी/व्यवसायीहरुलाई सोधिएको प्रश्नावलीमा कोभिड-१९ महामारीका कारण बन्दाबन्दी शुरुवात हुनुभन्दा अगाडि २०७६ फागुन महिनाको अवस्थासँग तुलना गर्न लगाइएको हो ।