काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा आठ विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने निश्चित भएको छ । बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनका लागि आएका छन् । २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश आएको समेत बताइएको छ । एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईका अनुसार विदेशी पाहुना काठमाडौंमा होटल सोल्टीमा रहेका छन् । विदेशी पाहुना महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता हुनेछन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनासङ्ग मङ्सिर १२ गते बिहान चितवनमा संयुक्त ‘ब्रेकफास्ट मिटिङ’ गर्ने कार्यसूची छ । समितिका अनुसार चितवनमा रहँदा पाहुनाहरूलाई ग्रिन मेनसन जङ्गल रिसोर्टमा राखिनेछ । उनिहरुलाइ स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण गराउनुका साथै जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको अवलोकनसमेत गराइने भएको छ ।
एमाले महाधिवेशनमा आठ विदेशी पार्टीका पाहुना, २५ पार्टीले पठाए शुभकामना
