काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टबाट विश्वभर सङ्क्रमणको उच्च जोखिम बढेको बताएको छ । सोमवार डब्लुएचओले नयाँ भेरियन्टले विश्वभर नै गम्भीर परिणाम ल्याउन सक्ने बताएको हो । बीबीसीका अनुसार सङ्गठनका प्रमुख डा. टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउन पुनः आह्वान गरेका छन्। यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो।
प्रारम्भिक प्रमाणहरूले यसको सङ्क्रमण जोखिम धेरै रहेको देखाएका थिए। उक्त भेरियन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको डब्यूएचओले प्रशंसा समेत गरेको छ । सोमवार डा. टेड्रोसले विश्वभरका वैज्ञानिकहरूले नयाँ भेरियन्ट उच्च सङ्क्रामक भए नभएको बारे अध्ययन गरिरहेको समेत बताए । नयाँ भेरियन्टका कारण कसैको ज्यान गएको भन्ने खबर भने अहिलेसम्म छैन ।