काठमाडौं । तान्जानियामा कछुवाको मासु खाँदा कम्तिमा सात जनको मृत्यु भएको छ । त्यहाँको पेम्बा द्वीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृतकमध्ये एक जना तीनवर्षे बालक समेत छन् । विषालु मासुका कारण बिरामी परेका अरू तीन जना अस्पतालमा छन्। तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन रहेको छ । सरकारले भने मासु खान रोकेको छ ।
कछुवाको मासु विषाक्त हुने घटना भने दुर्लभ मानिन्छ। तर कहिलेकाहीँ क्लेनोनिटक्सिजमुका कारण कछुवाको मासु विषालु बन्ने चिकित्सकको भनाई छ । कछुवाले खाने विषालु लेउका कारण समेत त्यसो हुन सक्ने बताइएको छ । अर्धस्वायत्त जन्जिबार द्वीप क्षेत्रमा पर्ने पेम्बाका पाँच परिवारले बिहीवार कछुवाको मासु खाएको खबर छ ।
त्यसको भोलिपल्ट उनीहरू बिरामी पर्न थालेका थिए । प्रहरीका अनुसार ३८ जना लाई अस्पताल भर्ना गरिएकोमा अधिकांशलाई घर फिर्ता पठाइएको छ। समाचारसंस्था एएफपीका अनुसार गत मार्च मार्च महिनामा म्याडग्यास्करमा कछुवाको विषालु मासु खाँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो।