नाइजेरियामा डुंगा पल्टियो, स्कुले बालबालिकासहित २९ को मृत्यु

File Image Source : AP/ REPRESENTATIONAL

काठमाडौं । नाइजेरियामा डुंगा पल्टिएपछि भएको दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टँदा बालबालिका सहित कम्तिमा २९ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । मृत्यु हुनेमा धेरैजसो ६ देखि १२ वर्षका बालबालिका छन् । उनीहरु एक इस्लामिक विद्यालयका बालबालिका हुन् । उनीहरू एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गरिरहेका े समाचारमा उल्लेख छ ।

प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ। जिवितै उद्धार गरिएका सात जनालाई अस्पताल पुर्याइएको छ। घटनाको कारण स्पष्ट भइसकेको छैन। विगतमा भएका यस्ता दुर्घटनाका कारक क्षमता भन्दा बढी यात्रु राखिनु र आवश्यकता अनुसार डुङ्गाको मर्मतसम्भार हुन नसक्नु रहेको बताइएको छ।

दुर्घटनाग्रस्त डुङ्गामा ५० भन्दा बढी यात्रु सवार रहेका समेत उल्लेख छ । दुई हप्ता अघि छिमेकी जीगावा राज्यमा एउटा डुङ्गा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको थियो। मे महिनामा भएको त्यस्तै घटनामा केब्बी राज्यमा १०० भन्दा बढी यात्रुको मृत्यु भएको थियो।