आज विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

सांकेतिक तस्वीर

काठमाडौं । नेपालको विभिन्न स्थानमा आज मौसम बद्ली हुने भएको छ । जसले गर्दा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

महाशाखाको मौसम सम्बन्धी विशेष बुलेटिन अनुसार आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ । हिमाली जिल्लामा भारी हिमपातको सम्भावना छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । यस्तै यी प्रदेशका हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुनेछ । यस्तै, राति पनि वर्षा र हिमपातको सम्भावना रहेको छ ।

भेलि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । पर्सिदेखि भने मौसम केही खुल्ने अनुमान गरिएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर बन्दै जाने भएकाले पर्सि मौसम केही खुल्ने अनुमान गरिएको हो । हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले सकेसम्म पर्वतारोहणमा नजान मौसमविद्को सुझाव छ ।