काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले कोभिड-१९ सङ्क्रमण भई उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन्।
प्रधानन्यायाधीश जबरालाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ। उनको सशस्त्र प्रहरी अस्पतालमा उपचार चलिरहेको छ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको काम–कारबाही अघि बढाउन सुझाव दिएका हुन्।
“प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको काम–कारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ,” सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरू सहभागी थिए।