काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षको उम्मेदवारी शुल्क एक लाख रुपैँया तोकिएको छ । राप्रपा केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्षको उम्मेदवार बन्न १ लाख शुल्क तोकेको हो ।
त्यस्तै केन्द्रीय उपाध्यक्ष पदको उमेदवार बन्न ७५ हजार तोकिएको छ । केन्द्रीय महामन्त्री पदको लागि ५० हजार, केन्द्रीय सदस्यको लागि १५ हजार तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । राप्रपाको महाधिवेशन काठमाण्डुको भृकुटीमण्डपमा जारी छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशन अन्तर्गत बन्दसत्रमा आर्थिक कार्यपत्र प्रस्तुत गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टीको जारी महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत गरेका हुन् ।
कार्यपत्रमा राप्रपाले आउँदो १५ वर्ष भित्र नेपालको प्रति व्यक्ति आम्दानी ३००० डलर पुर्याउनु हाम्रो बृहत् आर्थिक लक्ष्य हुने जनाएको छ ।
यसको लागि कृषिको वृद्धिदर सालाखाला ४.५ र गैर–कृषि क्षेत्रको वृद्धिदर ८ देखि ९ प्रतिशत कायम गरिने कार्यपत्रमा उल्लेख छ ।
कार्यपत्रमा नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको अर्थ राजनीति र नेपालको विशिष्टताबारे गरेको चिन्तन २१ औँ शताब्दीमा निरन्तरतासहितको गतिशीलता कायम गर्दै अगाडी बढ्न उपयुक्त हुन्छ भन्ने ठहर गरिएको छ ।
वर्तमान सन्दर्भमा निरन्तरतासहितको गतिशीलता आर्थत् संवर्द्धनवाद भएको बताउँदै यस दृष्टिकोणलाई ‘पृथ्वीपथ’ नाम दिइएको छ ।