ए-डिभिजन लिग खेलाइरहेका ९ जना रेफ्रिले किन दिए सामुहिक राजीनामा ?

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका नौ जना फिफा रेफ्रीले बिहीबार सामूहिक राजीनामा दिएका छन् । रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राजिनामा बुझाएका हुन् । एन्फाले लिग चलिरहेको समयमा रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ माग गरेको थियो । यसको विरोध गरिरहेका रेफ्रीहरुले सामूहिक राजीनामा गरेका छन् ।

राजीनामा बुझाउनेमा फिफा रेफ्री नविन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ र प्रज्वल क्षेत्री तथा फिफा असिस्टेन्ट रेफ्रीहरु नानीराम थापा, विक्रम चौधरी, किशन यादव, युनाल मल्ल, माधव खत्री र सहदेव श्रेष्ठ छन् । रेफ्रीहरुले फिटनेश टेस्ट गर्ने भए लिग रोकेर फिटनेशका लागि समय दिनुपर्ने माग गरेका थिए ।

एन्फाले भने हरेक तीन महिनामा रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ गरिनु पर्ने फिफाको निर्देशन अनुसार नै रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ माग गरेको बताएको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबारदेखि दशरथ रंगशालामा तेस्रो चरणका खेल सुरु हुँदैछन् । रेफ्रीकै कारण शुक्रबारको खेल भने रोकिने छैन ।