कोभिडको नयाँ भेरियन्ट ४० मुलुकमा पुष्टी

काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन ४० मुलुकमा देखिएको छ । यो भाइरसको फैलावटसँगै संसारभर त्रास बढेको छ । तर, विश्व स्वास्थ्य सङ्गठनले भने आत्तिनु भन्दा पनि सतर्क रहेर न्यूनिकरणको तयारी गर्न आह्वान गरेको छ । एउटा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रवार अहिलेको अवस्था गत वर्षको भन्दा निकै फरक रहेको बताइकी छन्।

बीबीसीका अनुसार प्राप्त विवरणहरूमा ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको उनको भनाई छ । भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन्। नेपाल भने अहिलेसम्म सुरक्षित छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले प्रस्तुत गरेका प्रारम्भिक विवरणअनुसार ओमिक्रोनले कोभिड(१९ विरुद्धको प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने सम्भावना छ। तर यो विश्लेषण शत प्रतिशत सही नहुन सक्ने बताइएको छ।

रोएटर्स नेक्स्ट कन्फरेन्समा बोल्ने क्रममा डा. स्वामीनाथनले दक्षिण अफ्रिकाको तथ्याङ्कलाई उद्धृत गर्दै यो भेरिअन्ट अत्यन्तै सङ्क्रामक रहेको र यो विश्वभरि प्रभाव पार्न सक्ने स्ट्रेन बन्न सक्ने सम्भावना छ । अहिले विश्वमा फेला परेका कोभिड बिरामीमध्ये ९९ प्रतिशत डेल्टा भेरिअन्टबाट सङ्क्रमित छन्।