आजबाट बाघ गणना थालिँदै

काठमाडौं । नेपालमा आजबाट बाघको गणना शुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना गर्न थाल्ने जनाएको छ । गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट हुनेछ । २०२१ भित्रै गणना गरिने भए पनि कार्यक्रमको नाम ‘राष्ट्रिय बाघ गणना २०२२’ राखिएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा रहेको अनुमान छ ।

गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीनवटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना हुने विभागले जनाएको छ । गणनाका दौरान नेपाली सेना र हात्तिको अधिकतम सहयोग लिइने भएको छ । बाघ गणनाका लागि क्यामेरा जडान मूख्य काम हुनेछ । यो पटक एउटा टोलीमा कम्तीमा पनि ६ देखि ८ जना प्राविधिक रहने बताइएको छ ।

क्यामेरा ट्र्यापिङ र अकुपेन्सी सर्भे विधिबाट बाघको गणना हुने भएको छ । आगामी साउन १३ मा विश्व बाघ दिवसका दिन नतिजा सार्वजनिक गर्ने तयारी छ । गणना क्रममा बाघ ओहोरदोहोर गर्ने क्षेत्र र बाटो पत्ता लगाएर स्वचालित क्यामेरा राखिने भएको छ । क्यामेरा पार गरेर बाघ गए आफैं फोटो खिचिन्छ । क्यामेरामा कैद भएका बाघको तस्बिर हेरेर उक्त क्षेत्रमा कति बाघ छन् भन्ने निर्क्योल हुनेछ । नेपालमा सन् २०१८ मा २ सय ३५ बाघ रहेको अनुमान थियो ।