काठमाडौं । विदेशमा घरेलु कामदारका रुपमा काम गरी नेपाल फर्किएका कामदारले पुनः श्रम स्वीकृति पाउने बाटो खुलेको छ ।
प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारमा काम गरी स्वदेश फर्किएको व्यक्ति पुनः वैदेशिक रोजगारीमा जान चाहे तोकिएका शर्त पूरा गरी जान सक्ने गरी खुला गरेको छ ।
यसअघि समितिले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिने काम रोक्न निर्देशन दिएको थियो ।
अब पुनः श्रम स्वीकृतिमा जान चाहे कामदारले काम, तलब र अन्य सेवा सुविधा संतोषजनक रहेको अवस्थामा पुनः विदेश जान चाहेको स्वःघोषणा गरे पुनः श्रम स्वीकृति दिन सकिने निर्णय गरेको हो ।
यो निर्णय एक पटक गएर फर्किएपछि पुनः जान चाहने कामदारका लागि मात्र हो । नयाँ घरेलु कामदार पठाउने सम्बन्धमा रहेको रोक भने जारी नै रहनेछ ।
नेपालबाट महिलाहरु बढीजसो घरले कामदारका रुपमा जाने गरेका छन् ।
काम गरेको स्थानमा कामदारलाई राम्रो सेवा सुविधा र इज्यतिलो काम प्राप्त हुँदाहुँदै पनि रोक्दा धेरै कामदार समस्यामा परेको भन्दै खुला गर्नुपर्ने श्रममन्त्री गोकर्ण विष्टको भनाई छ ।
वैधानिक बाटोबाट जान चाहे पुनः श्रम स्वीकृति दिनुपर्ने उनको भनाई छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित देशमा घरेलु कामदारसम्बन्धी कानून नबनेसम्म र नेपालले ती मुलुसँग श्रम सम्झौता नगरेसम्म घरेलु कामदार पठाउन बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।
सोही अनुसार नेपालबाट घरेलु कामदार जान बन्द भएको छ ।
बुधबारको बैठकमा समितिले सरोकारवाला निकाय सबैलाई बैठकमा डाकेको थियो । सबै निकायले पुनः श्रम स्वीकृतिका लागि अनुमति दिनुपर्ने धारणा राखेका थिए ।