नागाल्याण्ड । भारतको नागाल्यान्डमा शनिबार सेनाको गोली लागेर एकै पटक १३ जना सर्वसाधारणको ज्यान गएको छ । यसले पुनः एक पटक भारतको सुरक्षा अवस्थाबारे विश्वभर बहस शुरु गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार म्यानमारसँगको सीमा नजिक मोन जिल्लामा गस्ति गरिरहेको सैन्य टोलीले खानीमा काम गर्ने स्थानीयमाथि अन्धाधुन्ध गोली चलाएको थियो । उनीहरु कामबाट फर्किरहेका थिए । शव एकै ट्रकमा सेनाले थुपारेर राखेको थियो ।
त्यसपछि स्थानीयवासी सुरक्षा अधिकारीमाथि आक्रमणमा उत्रिएका छन् । उनीहरुले सेनाका गाडीमा आगजनी समेत गरेका छन् । सो क्रममा एक सैनिक जवानको समेत ज्यान गएको छ । घटनाप्रति भारतीय सेनाले गम्भीर दुःख व्यक्त गरेको छ । सेनाले कोर्ट अफ इन्क्वाइरी को आदेश समेत दिएको छ । खासगरी स्थानीय स्तरमा सैनिकबाट भएको गम्भीर लापरवाहीका कारण घटना भएको हो ।
भारतका गृहमन्त्री अमित शाहले हत्याको खबरले आफू दुःखी भएको भन्दै राज्य सरकारले घटनाबारे छानबिन सुरु गरेको जानकारी गराएका छन् । नागाल्यान्डमा वर्षौँदेखि पृथकतावादी लडाकु र सुरक्षा फौजबीच झडप भइरहेका थिए । तर, यसमा निहत्था मानिसको ज्यान गएपछि भने बहस छेडिएको हो ।